राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

संघीय संसद र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण भइसकेको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।

निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस