अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेको अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । मङ्गलवार नेपाली काँग्रेसले काठमाडौँमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको संरचनागत सुधार सजिलो नभएको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको समाधान अब टालटुले नभएर निर्मम भएर जानुपर्ने अवस्था आएको बताए । उनले सरकारले अर्थतन्त्रको संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने भएको भन्दै आगामी सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको तर सरकारी राजश्वमा न्यून देखिँदा खर्च कटौतीमा सरकार निर्मम हुनुपर्ने बताए । उनले सामाजिक सुरक्षामा ठूलो समस्या रहेको पनि बताए । उनले सार्वजनिक खर्चमा निर्मम कटौती आवश्यक रहेको उल्लेख गरे । डा. वाग्लेले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । उनले खर्च र आम्दानीको खाडल पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने बताए ।

उनले सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको दाबी गरे । उनले विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषण बाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने पनि बताए । अर्थविद् वाग्लेले सार्वजनिक ऋणको साँवा ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्यून देखिनु चिन्ताजनक रहेको बताए ।

उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझाव १६ वटा आयोग मात्रै राख्न भनेपनि कार्यकर्ता पाल्नको लागि सरकारले छुन समेत नसकेको बताए । निर्यातको लागि राज्य र उद्योगी व्यवसायीहरू नै लाग्दा पनि १ मिलियन डलर बराबरको निर्यात गर्न अझै नसकेको बताए । उनले १ मिलियन डलरभन्दा बढी ३० हजार युवाले डिजिटल प्रविधिमार्फत विदेशी डलर ल्याएको बताए ।

उनले बैङ्कहरूले एकै पटक उच्च ब्याजदर बढाउन नहुने बताए । उनले अनुत्पादन क्षेत्रमा धेरै कर्जा प्रवाह भएकाले बैंकहरुलाई नै समस्या पर्ने देखिएको बताए । उनले नेपालको माथि उठेको बैंकिङ उद्योग पनि धरासायी भयो भने अर्थतन्त्र झनै समस्या पर्ने बताए । उनले बैंकको ब्याजदर घटाउनका लागि एउटा छुट्टै टिम बनाएर सबैसँग छलफल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस