कृषकहरूलाई बारीमै प्रयोगात्मक तालिम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषकहरूलाई बारीमै प्रयोगात्मक तालिम


२४ फाल्गुन २०७९, बुधबार


डोटी । कृषि ज्ञान केन्द्र डोटीले कृषकहरूलाई बारीमै पुगेर पुराना सुन्तलाको बगैँचा व्यवस्थापन तथा पुनस्थापना सम्बन्धी प्रयोगात्मक तालिम दिएको छ ।

ज्ञान केन्द्रले डोटीका तिन वटा पालिका बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र के आईसिंह गाउँपालिकाका कृषकहरूलाई बारीमै पुगेर सुन्तलाको बगैँचा व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।

कृषकहरूले फलफूल लगाउनु मात्र नभई त्यसको संरक्षण र उत्पादन बढाउनु अझ बढी महत्त्वपूर्ण कार्य भएकोले कृषकहरूलाई व्यवस्थापन सम्बन्धी प्रयोगात्मक तालिम दिइनुका साथै सामाग्रीहरू पनि सहयोग गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने कृषकहरूको बारीमै गएर प्रयोगात्मक रूपमा जानकारी गराउँदा उनीहरू बढी उत्साहित देखिए ।

कृषकहरूलाई बारीमै गएर प्रयोगात्मक सिपको बारेमा जानकारी गराउँदा कृषकहरूलाई नयाँ विषय बस्तुको बारेमा जानकारी हुनुका साथै सुन्तलाको उत्पादन वृद्धि र गुणस्तरमा समेत वृद्धि हुने प्रमुख पनेरुले बताए ।

ज्ञान केन्द्रले कृषकहरूलाई बारीमै गएर प्रयोगात्मक रूपमा बगैँचा व्यवस्थापन सम्बन्धी जानकारी गराउँदा कृषकहरूलाई नयाँ कुराहरूको बारेमा जानकारी भएको जोरायल गाउँपालिका वडा नम्बर ६ का कृषक राम बहादुर बोहराले बताए । उनले भने हामीलाई ज्ञान केन्द्रले जिल्ला अथवा कुनै ठाउँमा बोलाएर तालिम दिएको भए धेरै कुरा जानकारी हुने थिएन, हामीहरूलाई जानकारी गराएका कुराहरू हामी व्यवहारमा कमै लागु गर्छौ तर यसरी हाम्रै बारीमा आएर जानकारी गराउँदा हामीले आफै सहज रूपमा गर्न सकिने काम रहेछ जस्तो लागेको धेरै कुराहरूको बारेमा जानकारी भएको बताए ।

तालिममा सहभागी अधिकांश कृषकहरूले बगैँचा व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञानको बारेमा जानकारी भएकोले आगामी दिनमा आफै व्यवस्थापन तिर ध्यान दिने समेत बताएका थिए ।

कृषकहरूलाई बोटबिरुवाको, काटछाट, सूक्ष्म खाद्य तत्त्वको प्रयोग, रोग किराले आक्रमण बाट बचाउन बोडीक्स फिक्चर र पेस्ट को प्रयोग, गोडमेल, सिचाई लगायतका व्यवस्थापकीय सिपहरूको बारेमा जानकारी गराइएको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

ज्ञान केन्द्रले बडीकेदार गाउँपालिका वडा नम्बर १ मुडा, रजेडा, जोरायल गाउँपालिका वडा नम्बर ६ गुनड र केआई सिह गाउँपालिका वडा नम्बर ४ कार्किबगरमा रहेका ३ वटा कृषक समूहहरूलाई तालिम दिनुका साथै आरा कैँची स्प्रे, चुना, निलोतुथो लगाएका सामाग्रीहरू पनि सहयोग गरेको थियो ।

कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषक समूहहरूलाई तालिम तथा सामाग्री सहयोग गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस