काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडिओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् ।
परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ । पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेको भन्दै यसले अझ उच्छृङ्खल गतिविधि बढेको उनीहरूको बुझाई छ ।
व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका छन् । सहकारी क्षेत्रमा पनि लाखौँ बचतकर्ता पीडित बनेको एकपछि अर्को समाचार बाहिरिइरहेको छ ।