राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेका हौँ : माधव नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेका हौँ : माधव नेपाल


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन् ।

पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको आज उद्घाटन गर्दै उनले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताए । आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने राष्ट्रपतिले आफ्नो काम, अधिकार र कर्तव्यलाई बुझेर पदको गरिमा उच्च राख्नुपर्ने उनको भनाइ थियो ।

एकीकृत समाजवादीले अवलम्बन गरेका आदर्शले राष्ट्रिय राजनीतिमा पार्टीको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिए । केही समय अगाडि एकीकृत समाजवादीलाई पार्टी नै नमान्ने नेता राष्ट्रपति निर्वाचनमा पछिल्लो पटक विकास भएका घटनाक्रमबाट अतालिएर सहयोग माग्न आएको उनले स्मरण गरे ।

विद्यमान छुवाछूत, विभेदलगायत सामाजिक विकृति न्यूनीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष नेपालले दलित समुदायका अधिकार स्थापित गर्न उनीहरू एकताबद्ध हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस