मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व दिइनँ : माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व दिइनँ : माधव नेपाल


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्त्व नदिएको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टी निकट दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चुनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायित्व दिने कुरालाई महत्त्व दिएको बताए ।

देशलाई अघि बढाउनका लागि पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उम्मेदवार गरिएको दाबी गरे । अहिले पनि नेपालको राजनीतिमा आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै विभिन्न प्रस्तावहरू आइरहेको उनको भनाइ छ ।

त्यस्तै, अध्यक्ष नेपालले वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको र विश्वासको मत लिने बेला पनि समर्थन हुने बताए । वर्तमान सरकारलाई पूर्णता दिएर देशैभर आठ दलीय गठबन्धनको सरकार बनाउनका लागि अघि बढ्ने उनले बताए ।

अध्यक्ष नेपालले अहिले कम्युनिस्ट एकताको खाँचो रहेकाले नेकपालाई ब्युँताउनका लागि पहल गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टी अरु पार्टीमा समाहित हुने अवस्था नरहेको बरु सम्मानजनक एकताको पक्षमा रहेको जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस