बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृहको पत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृहको पत्र


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय मातहतका सुरक्षा निकायहरूलाई परिपत्र गरेको छ ।

बैङ्किङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुन सक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए । 

केही साताअघि व्यवसायी दुर्गा प्रसाईँले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंक/वित्तीय संस्थाका सञ्चालक/कर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिन सक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ ।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले जुनसुकै आवरणमा भए पनि कानुन हातमा लिने जोसुकैलाई कारबाही गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस