मधेस सरकार भुक्तानी विवाद छानबिन समिति सभापतिद्वारा राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेस सरकार भुक्तानी विवाद छानबिन समिति सभापतिद्वारा राजीनामा


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ। गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेस प्रदेश सभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिकी सभापति बबिताकुमारी राउत ईशरले पदबाट राजीनामा दिएकी छन् ।

उपसभामुखसमेत रहेकी राउतले असहज, अस्तव्यस्तता,जटिलता महसुस गरेर पदबाट राजीनामा दिएको बताइन् ।

गत आर्थिक वर्ष २०७८/०७९ को मधेस सरकारको विभिन्न योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । जुन प्रदेश सरकारको लागि टाउको दुखाइ बनेको छ । भुक्तानीको समस्या सुल्झाउन प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको प्रस्तावमा ४ फागुनमा प्रदेशसभा बैठकले उपसभामुख इशरको सभापतित्वमा २० सदस्य छानबिन समिति गठन गरेको थियो । तर समितिको एउटा बैठक बस्न नपाउँदै सभापति इशरले राजीनामा दिएकी हुन् । गत मङ्गलवार बसेको समितिको पहिलो बैठकमा सभामुख रामचन्द्र मण्डलले समितिका सभापति पदबाट उपसभामुखले राजीनामा दिएको सुनाएका थिए ।

पहिलो बैठकले समितिको सभापतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारीलाई सर्वसम्मत चयन गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

यस अघि २०७५/०७६ मा प्रदेश सरकारको ९२ करोड रुपैयाँ भुक्तानीको लफडा थियो । जुन ०७६/७७ मा प्रदेश सभाले यस्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर भुक्तानी फर्छ्यौट गरेको थियो । त्यति बेलाको प्रतिवेदनमा अब यस्तै नजिर नदोहरिने गरी बाँकी भुक्तानीको लागि छानबिन समिति गठन नगर्ने उल्लेख गरिएको थियो । तर, फेरि आर्थिक २०७८/०७९ मा झण्डै एक अर्ब रुपैयाँ भुक्तानी रह्यो । र भुक्तानीको लागि पुनः उच्च स्तरीय छानबिन समिति गठन गरिएको छ । जुन नीति सङ्गत नरहेको र यसले गलत संस्कार बसाउन खोजेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

कानुनी उल्झन हुन सक्ने देखेपछि विवादित नबन्न उपसभामुख इशरले समितिको सभामुख पदबाट राजीनामा दिएको श्रोतको दाबी छ ।

समितिले सभामुखको निर्देशनमा आफ्नो कार्यविधि आफैँले निर्माण गर्ने र भुक्तानी समस्या समाधान गर्ने छ । गठित समितिको अवधि कार्य प्रारम्भ भएको मितिले ३० दिनको हुने उल्लेख छ । गत मङ्गलवार बसेको बैठकले मुख्यमन्त्री कार्यालयले पत्राचार गरेर सात दिन भित्र बाँकी भुक्तानी योजनाको विवरण माग गर्ने निर्णय गरेको हो ।

समितिले ती योजनाहरूको स्थलगत निरीक्षण र नापजाँच गर्ने,सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारको पदाधिकारीहरूसँग बयान लिने लगायतको काम गरेर भुक्तानी गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस