सातौँ निर्वाचन दिवस मनाइयो  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सातौँ निर्वाचन दिवस मनाइयो 


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ ।  ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे । प्रमुख आयुक्त थपलियाले भने, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य हुँदैन ।”

उनले अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्न लागिएको बताए ।

निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस