भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ ।

नेपाल छाला जुत्ता उत्पादक सङ्घले बुधवारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारा सहित काठमाडौँको भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु गरेको हो ।

प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् । प्रदर्शनी फागुन ९ गतेसम्म चल्ने छ । प्रदर्शन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । 

उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबाट तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गरिन् । चौधरीले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन् । साथै उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्धनमा जोड दिनु पर्ने बताइन् । 

प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरिएका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको सङ्घले जानकारी दिएको छ ।

प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ । मेलामा करिव ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य सङ्घको रहेको छ ।

मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला, पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।

मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस