राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई सघाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई सघाउने


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ।

वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने तयारी गरेको हो।

यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केही दिनमै गर्ने माओवादीका एक नेताले बताए। स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए।

राष्ट्रपतिमा काँग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे। राष्ट्रपतिमा अब काँग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनको भनाई छ ।

राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चलेपनि उनले त्यसो हुन सम्भव नभएको उनले बताए।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ। त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा काँग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो।

एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने प्रयाप्त सङ्केत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा काँग्रेसलाई सघाउन लागेको माओवादीका ती नेताले बताए।

ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन बनेदेखि नै असहज महसुस गरेका थिए।

मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्रीको इच्छा विपरीत समेत एमाले अध्यक्ष ओलीले गठबन्धनमा हाबी भएको ती नेताले आरोप लगाए।

रास्वपालाई गृह, राप्रपालाई ऊर्जा, एमालेलाई अर्थ, परराष्ट्र र रक्षा सहितका मन्त्रालय दिने निर्णयसमेत ओली आफैँले गरेको उनको आरोप छ।

प्रचण्डले ओलीबाट सुरुदेखि नै कति असहज महसुस गरेका छन् भनेर जनमत पार्टीका अध्यक्ष सिके राउतले सङ्केतसमेत गरेका थिए।

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र माओवादी सहितको गठबन्धन गर्ने निर्णय भएको थियो। त्यो बैठकमा राप्रपा, रास्वपा, जसपा, जनमत पार्टीलगायत समेत थिए।

बिहान ११ बजेसम्म पनि प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस सहितको समर्थनमा प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर अन्तिम छलफलमा थिए। तर त्यसका लागि काँग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नभएपछि प्रचण्ड खुमलटार हुँदै बालकोट पुगेका थिए।

बालकोटमै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। त्यसयता ओलीले आफ्नो पक्षमा निर्णय गराउन प्रचण्डलाई निरन्तर दबाब दिएको माओवादी नेताहरूको गुनासो छ।

Tags :
प्रतिक्रिया दिनुहोस