टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका हुन् ।

दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल छन् ।

दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा सहर पुगेका छन् । सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् ।

भूकम्पले गर्दा कतिपय स्थानमा सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । 

टर्कीस्थित गैर आवासीय नेपाली सङ्घका महासचिव विनोद पौडेलका अनुसार सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबै ठाउँमा सम्पर्क हुन सकिरहेको छैन । भूकम्प गएको गाजियान्टेपमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन ।

सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर टर्कीको राजधानी अंकारा पठाउने तयारी भइरहेको पौडेलले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली रहे/नरहेको खोजी भइरहेको पनि पौडेलले बताए ।

टर्कीको गाजियान्टेप सहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् ।

चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भइसकेको छ । आजै मात्र नेपालले टर्कीलाई राहत सामग्री पठाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस