म कसैसँग जुहारी खेल्ने पक्षमा छैन : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

म कसैसँग जुहारी खेल्ने पक्षमा छैन : मुख्यमन्त्री शर्मा


२१ माघ २०७९, शनिबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू कसैसँग जुहारी खेल्ने पक्षमा नरहेको बताएका छन् ।

पूर्व मुख्यमन्त्री एवं काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लक्षित गर्दै शर्माले यस्तो बताएका हुन् । शनिबार प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै शर्माले दिन काम होइन मन कामलाई ध्यान दिएर अघि बढ्ने उद्देश्य आफ्नो रहेको बताए ।

उनले भने, ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन, बोल्नुभन्दा बढी काम गर्न रुचाउने मान्छे हो । आज बोल्नेहरूले हिजो के गरियो ? भन्ने कुराहरूको समीक्षा गरेर बोल्नुपर्छ ।’

शर्माभन्दा पहिला बोलेका काँग्रेस नेता शाहीले शर्मालाई लक्षित गर्दै मन्तव्य राखेका थिए । मुख्यमन्त्री शर्माले तर्कलाई बङ्ग्याएर समाज अघि बढ्न नसक्ने बताए । उनले भने, ‘दोहोरी खेल्नु छैन, हामी कर्णाली समृद्धिको अभियानमा छौँ । एकताका माध्यमबाट अघि बढ्नुपर्छ । सम्भवत राष्ट्रिय मार्ग पनि यही हो । परम्पराको पुच्छर समाएर दौडिने पक्षमा म छैन ।’

साथै शर्माले सङ्घीयता राम्रोसँग लागु नभएको तर्क राखे । अझ प्रशासनिक सङ्घीयताको स्थिति जर्जर देखिएको समेत उनको भनाई छ । शर्माले समाजवाद उन्मुखतर्फ छलफलहरू केन्द्रित हुन् जरुरी रहेको बताए ।

उनले भने, ‘आजका आवश्यकतालाई बोध गर्ने कुरा र समस्यालाई समाधान गर्न केन्द्रीकृत भएर अघि बढ्नुपर्छ । म जनताको काममै समर्पित छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस