खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । खाद्य व्यापार तथा कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान पाउन सकेको छैन । संस्थानले किसानबाट यस वर्ष १४ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार ८२० क्विन्टलमात्रै धान खरिद गर्न सकेको छ । 

गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन । सरकारले ढिला गरी धानको समर्थन मूल्य तोक्ने र खरिद गर्दा लक्ष्यअनुसार धान खरिद हुन नसकेको खाद्य संस्थानले जनाएको छ ।

खाद्य संस्थान कञ्चनपुरका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार ८२० क्विन्टलमात्रै धान खरिद भएको बताए । उनका अनुसार यस वर्ष खाद्यमा धान बिक्री गर्न थोरै मात्र किसान आएका हुन् । 

सरकारले गतभन्दा यस वर्ष प्रतिक्विन्टल रु. २१५ वृद्धि गरे पनि समयमा धान खरिद नहुँदा किसानले सस्तोमै धान बिक्री गरे । यस वर्ष मोटो धानको समर्थन मूल्य दुई हजार ९६७ र मसिनो धानको तीन हजार १२८ पुर्‍याएको थियो । 

सरकारले समयमा धान खरिद नगर्ने र आफूहरूसँग भण्डारणको व्यवस्था नभएका कारण सस्तोमा धान बिक्री गर्नुपरेको किसान लालसिंह डगौराले बताए । 

उनले सरकारले जहिल्यै ढिलो गरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ गतेदेखि खरिद सुरु गरेको थियो ।

सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने कृषक गणेश भट्टले बताए । 

गत वर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि एक हजार १६१ क्विन्टलमात्रै धान खरिद भएको थियो । 

कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस