सेवाग्राही नहुँदा कर्मचारी कार्यालय कुरेर बस्छन् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेवाग्राही नहुँदा कर्मचारी कार्यालय कुरेर बस्छन्


१२ माघ २०७९, बिहिबार


मनाङ । यहाँ बुधवारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ ।

यहाँका बासिन्दा जाडो छल्न मनाङको बेँसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिला गरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।

सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । ‘यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन’, विष्टले भने, ‘कार्यालय कुर्ने मात्रै काम भएको छ ।’

चिसोले गर्दा यहाँका विकास योजनाका काम सबै ठप्प छन् । केही स्थानमा विकास निर्माणका काम आंशिकरुपमा भइरहेकाले अनुगमन लगायतका कार्य भने गरिरहेको उनले बताए ।

मनाङमा हिउँ पर्नुपर्ने भए पनि अहिलेसम्म पर्याप्त मात्रामा परेको छैन । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्लापास गर्न यहाँ बाह्य पर्यटक आउने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताए ।

‘हिउँ पर्दा आन्तरिक पर्यटक बढ्थे, हिउँ नपरे पनि यहाँ दैनिक जसो बाह्य पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँ बसेर सेवा दिइरहेका छौँ’, उनले भने । सेवाग्राहीको भिडभाड नभए पनि सेवा दिइरहेको गौतमले बताए ।

सेवाग्राही नहुँदा अहिले यहाँ कुनै कार्यक्रम भएका छैनन् । विकास निर्माण ठप्प छ । काम नभएपछि भुक्तानीका काम पनि ठप्प जस्तै रहेको यहाँका कर्मचारी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले कामको चाप नभए पनि सेवाग्राहीबाहेक अन्य प्रशासनिक कार्य गरिरहेको बताए । ‘अहिले यहाँ कामको चाप त छैन, तर अन्य कार्य हेर्ने समय पाएको छु’, ढुङ्गेलले भने, ‘यहाँ सेवाग्राही फर्किन थालेपछि कार्यालयमा कामको चाप बढ्नेछ ।’

बुधबार मात्रै आंशिकरुपमा माथिल्लो मनाङमा हिमपात भएको उनले बताए । हालसम्म आवश्यक मात्रामा जिल्लामा हिमपात भने भएको छैन । यस वर्ष हिउँ ढिला गरी पर्ने देखिएको छ । हिउँ ढिला पर्दा मनाङवासी ढिला गरी जिल्ला फर्किने सम्भावना बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस