अस्पतालसँग अनुमति नलिई किन आइसियु छिरिन राज्यमन्त्री डा. कार्की ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अस्पतालसँग अनुमति नलिई किन आइसियु छिरिन राज्यमन्त्री डा. कार्की !


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । मङ्गलवार दिउँसो सङ्घीय संसद भवन अगाडि इलाम घर भएका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे ।

उनले आफ्नो शरीरमा आगो लगाएपछि प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल पुर्‍यायो।

शरीरको ८० प्रतिशत भाग जलिसकेका कारण उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार सुरु गरियो।

यो घटनाले केही बेरमै सामाजिक सञ्जालमा तरङ्ग पैदा गर्‍यो । घटनाको लगत्तै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले थाहा पाइन् । अनि उनी जलेर घाइते भएका आचार्यलाई भेट्न अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगिन्।

राति भएका कारण अस्पतालको प्रशासन बन्द भइसकेको थियो। त्यसपछि उनी सोझै बिरामी भएको आइसियु कक्षमा छिरिन्। उनी त्यहाँ एक्लै गइनन्, उनीसँगै एक हुल क्यामेरा बोकेका मानिसहरू पनि छिरे।

अस्पतालहरूमा आइसियुलाई अति संवेदनशील क्षेत्र मानिन्छ। त्यही भएर त्यहाँ बिरामी भेट्नका लागि निश्चित समय तोकिन्छ। त्यसमाथि क्यामेरा बोकेर छिर्ने र भिडिओ खिच्ने कुरालाई भरसक प्रतिबन्ध गराइन्छ। खिच्नै परे अस्पताल प्रशासन र स्वयं बिरामी पक्षको अनुमति लिनुपर्ने हुन्छ। आफैँ पनि चिकित्सक रहेकी राज्यमन्त्री कार्कीले त्यति बेला यी सबै मर्यादा भुलिन्।
उनको उक्त कदमको अहिले आलोचना भइरहेको छ।

राज्यमन्त्री कार्कीले बिरामी आचार्यलाई भेट्न अस्पताल प्रशासनसँग कुनै अनुमति लिएकी छैनन्। उनी साँझ ७ बजेपछि अस्पताल पुगेकी हुन् । त्यति बेला प्रशासन खुला हुँदैन। फेरि राज्यमन्त्री आउँदा सुरक्षागार्डले रोक्ने कुरा पनि भएन। सायद उनी आफैँ पनि चिकित्सक भएकाले भिजिट गरेकी होलिन् ।

अहिले जुन राज्यमन्त्रीले आइसियुमा बिरामीलाई भेटेको भिडिओहरू बाहिर आएका छन्, ती भिडिओ पनि बिना अनुमति खिचिएको पाइएको छ। उक्त भिडिओ कसले कसरी खिच्यो भन्नेबारे अस्पताल जानकार छैन।

राज्यमन्त्री डा. कार्कीले भने यो घटनालाई लिएर कुनै प्रतिक्रिया दिन चाहेकी छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस