भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित


११ माघ २०७९, बुधबार


भोजपुर । बहु उपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो ।

दुई-चार वर्ष अघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् । गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ ।

‘चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ;’ उनले भने, ‘विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन रु सात-आठ हजारमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन रु ३० हजारका दरले बिक्री भयो ।’ बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ । बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ । किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ ।

“किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ’, उनले भने, ‘बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको बिर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।’

टेम्केमैयुङ गाउँपालिका-१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यावसायिक खेती गरिरहेको राउतले जानकारी दिए । यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन् । आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए । यहाँका किसानले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन् ।

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए । यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन (४० केजीको एक मन)सम्म उत्पादन गर्ने उनले बताए । यस वर्ष साढे उन्नाइस मन चिराइतो बिक्री गरेको राउतको भनाइ छ । ‘मैले यो वर्ष रु पाँच लाख बढी आम्दानी गरेँ’, उनले भने, ‘मैले सुरुमा प्रतिमन रु २६ हजारले बेचेँ, अहिले प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए । आलु, मकैबाट रु ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे रु पाँच लाखदेखि रु सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ । तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

‘पराम्परागतरूपमा खेती गरिरहेका छौँ’, बस्नेतले भने, ‘यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खासै सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।’ एक पटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन समय लाग्ने किसानको भनाइ छ ।

बर्सेनि आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका-५ मझौलेकी गोमादेवी विष्टले बताए । अहिले विभिन्न गाउँ बस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उनले बताए । ‘दुई–चार वर्ष अघिसम्म चिराइतोले उचित मूल्य पाएको थिएन’, उनले भने, ‘पछिल्लो समयमा मूल्यमा वृद्धि भएको छ । अहिले घरबाटै प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।’

‘एघार रोपनी बारीमा चिराइतो खेती गरिरहेकी छु’, उनले भने, ‘विगतमा मूल्य घटेका कारण उत्साह कम थियो । तर गत वर्षबाट केही भए पनि मूल्य बढेको छ । मूल्य नपाउँदा प्रतिमन रु छ हजारमा बिक्री गरेको अनुभव पनि छ । अहिले पाएको मूल्य त धेरै राम्रो हो ।’

यस वर्ष यहाँबाट ५० हजार दुई सय ६२ किलो चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ । बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ । यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन् ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायतमा चिराइतो प्रयोग गर्न सकिन्छ । पात, डाँठ, जरालगायत भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने व्यवसायी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस