नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक ठाकुर प्रसाद गुरौसहित ४ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

रुपन्देहीको साबिक सेमलार गाविस वडा नम्बर २ (ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल जग्गा खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिए ।  

तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक साबिकको सेमलार गा.वि.स. वडा नं. २ (ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनधिकार वा गैर कानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ । 

साथै आयोगले बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

निजहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस