विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा


२ माघ २०७९, सोमबार


काठमाडौँ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । ‘बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ’, उनले भने । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।

‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ’, प्रवक्ता पौडेलले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक-फरक हुने प्राधिकरणले जनाएको छ ।

आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको हवाई जहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस