बुटवल । नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिने बताएका छन् ।
शनिबार बुटवलमा पत्रकारहरूसँग बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख पाउन प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि विश्वासको मत दिएपछि साथ छोड्ने दाबी गरे । ‘राष्ट्रपति र सभामुख पाउन ओलीजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको हो’, उपाध्यायले भने, ‘अब एमालेले विश्वासको मत पनि दिन्छ तर आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिन्छ ।’
उपाध्यायले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा शङ्का समेत व्यक्त गरे । दलहरूभित्र भागबन्डा, गुटबन्दी र नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले विरक्त भएर आफू सक्रिय राजनीतिबाट विश्राम लिएको समेत उनले बताए ।
नेता उपाध्यायले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थ हाबी भएको टिप्पणी गरे ।
उनले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्ने रहे पनि विदेशी शक्तिहरूको स्वार्थ र प्रभावमा धर्मनिरपेक्षता र सङ्घीयता स्थापित गरेर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरूको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरूले चलखेल गरेकाले राष्ट्रियता सङ्कटमा परेको बताए ।