नेकपा एसका १२० भन्दा बढी केन्द्रीय सदस्यमाथि छानबिन, मुकुन्द र झाँक्रीलाई कारबाही गर्न माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एसका १२० भन्दा बढी केन्द्रीय सदस्यमाथि छानबिन, मुकुन्द र झाँक्रीलाई कारबाही गर्न माग


२० पुस २०७९, बुधबार


काठमाडौँ । थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीका १२० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेपछि पोलिटब्युरो बैठकमा खैलाबैला भएको छ ।

सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेको हो ।

निर्वाचन क्षेत्रमा नखट्ने र भोट नहाल्ने केन्द्रीय सदस्यहरूको संख्या १२० भन्दा माथि हुनसक्ने भनिएको छ ।

पार्टी १७ हजार मत नपुगेर राष्ट्रिय पार्टी बन्न नसक्दा केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषयमाथि छानबिन हुने बताइएको छ । बैठकमा यो विषय उठेपछि छानबिन हुने भएको छ ।

यदि १७ हजार मत बढी आएको भए नेकपा एसले थप कम्तीमा ४ सांसद पाउने थियो । बैठकमा नेकपा एसको समानुपातिक सूचीमा रहेकाहरूले समेत भोट नमागेको विषय पनि उठेको छ । दोस्रो नम्बरभन्दा तल रहेकाहरूले आफू नपर्ने निश्चित भएपछि भोट नै नमागेको कुरा उठेको छ ।

पार्टीका प्रभावशाली नेता मानिएका गोविन्द कोइराला, गौरा प्रसाईँ, दामोदर अर्याललगायतको नामै किटेर भोट हाल्नै नगएको आरोप लागेको छ । ३७० हाराहारीको केन्द्रीय कमिटीका १२० भन्दा बढी सदस्यको लिस्ट बनाएर छानबिन सुरु भएको नेकपा एसले जनाएको छ ।

मुकुन्द र झाँक्रीमाथि कारबाहीको माग
यसैबीच नेकपा एसको जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ ।

उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बदख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् ।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसङ्गसमेत निस्किएको बताइएको छ । मुकुन्दले सार्वजनिक रूपमै पार्टी नेतृत्वविरुद्ध बोलेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस