पिएचडी गरेकालाई होच्याएकोबारे ओलीले दिए स्पष्टीकरण  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पिएचडी गरेकालाई होच्याएकोबारे ओलीले दिए स्पष्टीकरण 


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पिएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् ।

आइतबार काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् ।

गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पिएचडी भनेको एउटा विषयको थेसिस न हो त्यसलाई के के न ठान्छन्, मूर्खहरूको जमाना छ’ भनेका थिए । सोही विषयलाई लिएर ओलीले पिएचडी गर्ने मान्छेलाई होच्याएको भन्दै आलोचना भएको थियो ।

आफ्नो आलोचना भइरहेको बारे पनि थाहा पाएका ओलीले आइतबारको विद्यार्थीसँगको अन्तरसंवादमा भने त्यसको प्रष्टीकरणमा दिए ।

ओलीका अनुसार एक जना पिएचडी गरेका व्यक्ति ओलीसमक्ष पुगेका थिए । उनीसँगको कुराकानीका क्रममा आफूले पिएचडी गरे पनि घमण्ड नगर्न आग्रह गरेको ओलीले बताए ।

‘जो बाबु म सँग आएका थिए । तपाईँले यति राम्रो पढ्नुभयो, बहुत राम्रो छ । तर घमण्ड दिमागमा पस्न नदिनुस्, सधैँ सिकिरहनुस्, नयाँ नयाँ कुरा जान्ने, सिक्ने कोसिस गरिरहनुस् । घमण्ड दिमागमा पस्यो भने अरू थोकलाई ठाउँ हुँदैन, घमण्ड भरिएपछि दिमागमा घमण्डमात्र हुन्छ, अरू पस्दै पस्दैन । नलेज पसाउनुछ भने घमण्डलाई स्थान दिनुहुन्न’ ओलीले ती व्यक्तिलाई आफूले दिएको सुझावबारे भने ।

ओलीले अगाडि भने, ‘मलाई आरोप आयो, आफू बज्रस्वाँठ छ, पढेलेखेको छैन, अनि पढेलेखेको मान्छे आयो भने पिएचडी गर्दैमा सबै जानिन्छ भनेर होच्याउँछ, भन्छन्, मैले कहाँ होच्याएँ ?’

अन्तिममा उनले थपे, ‘कोही पनि मान्छे ठूलो हुँदैन । उमेरले ठूलो होला, पद, ओहोदामा ठूलो होला, मान्छेका रूपमा ठूलो र सानो हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस