स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का


११ पुस २०७९, सोमबार


चितवन । कालिका नगरपालिकाले बेरुजु फर्छ्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ ।

बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो ।

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ ।

सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले भने ।

विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए । नगरपालिकाभित्र विगतदेखि हालसम्मको १६ करोडभन्दा बढी बेरुजु रहेको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिए ।

नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उनले बताए । यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुई दिने लेखासम्बन्धी तालिमसमेत दिएको छ ।

प्रमुख रेग्मीले भने, ‘अब बेरुजु हुन दिँदैनौँ । पहिलेको पनि उठाउँछौँ ।’ तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ । उनले थपे, ‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।’

कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस