प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक


१० पुस २०७९, आइतबार


धनुषा । मधेस प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए । ‘दलहरूसँगको समन्वयमा बैठक बस्दै छ’, सचिव यादवले भने, ‘त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।’

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेशसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्नेछ ।

त्यसै गरी संविधानको धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बिस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आह्वान गरिसक्नुपर्ने छ ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस