प्रचारात्मक कामलाई अघि बढाइन्छ : केपी ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचारात्मक कामलाई अघि बढाइन्छ : केपी ओली


९ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताएका छन् ।

प्युठान-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई सङ्गठनात्मक रूपमा एकताबद्ध बनाएर अगाडि बढाइने बताए । नेता ओलीले पार्टीका वास्तविक नीतिलाई कार्यकर्ता र जनतासमक्ष लैजाने दृढता व्यक्त गरे ।

पार्टी, जन वर्गीय सङ्गठन र तिनका सबै तहलाई चुस्त, दुरुस्त बनाउने उनको भनाइ छ । ‘पाटी कमिटी ठुला भद्दा छन् । ती काम गर्न नसक्ने छन् । ती नाम मात्रका कमिटी नेताको काम आसन ग्रहण गर्ने मात्र होइन । नेताको काम कार्यकर्ता र जनताकोमा जाने र उनीहरूलाई सक्रिय बनाएर पार्टी नीतिअन्तर्गत सङ्गठन विस्तार गर्ने हो’, उनले भने ।

पूर्व प्रधानमन्त्री ओलीले पार्टीका कमिटी ठुला भएकाले सङ्गठनात्मक र आन्दोलनका काम हुन नसकेको भन्दै आसन ग्रहण गराउने मात्र काम भएको बताए । उनले पार्टी एक ढिक्का भएर जनतासमक्ष जाने हो भने निर्वाचन जित्न सकिने विश्वास व्यक्त गरे ।

एमालेको मात्र राष्ट्रिय स्वार्थ रहेकाले सरकार सञ्चालनको हैसियत प्राप्त गरेको उनको दाबी थियो । ‘दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, जनताको हित, राष्ट्रको हित विकासका आकाङ्क्षा, जनताका समस्याको सम्बोधनलाई केन्द्र विन्दुमा राखेर एमालेले सोचिरहेको छ । सत्ता स्वार्थमा राखेर होइन’, उनले भने ।

कार्यक्रममा सांसद सूर्य थापाले मुलुकलाई स्थिरता दिने पार्टी एमाले मात्र भएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस