अवस्था ठिक नभएका १८ सवारीलाई कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवस्था ठिक नभएका १८ सवारीलाई कारबाही


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, फोर्स गाडी र टाटा सुमो लगायतका १८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको १०७ वटा सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गरिएको हो । 

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली  काठमाडौँको कीर्तिपुर क्षेत्रमा खटिएको थियो । 

आफ्नो सवारी साधनको अवस्था ठिक भएमा मात्रै सवारी साधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई प्रवक्ता  भट्टले अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस