आयात घट्दा भन्सार राजस्वमा ६३ अर्बको गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयात घट्दा भन्सार राजस्वमा ६३ अर्बको गिरावट


७ पुस २०७९, बिहिबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार घाटा करिब १९ प्रतिशतले घटेको छ । तर, आयातसँगै व्यापार घाटा घट्दा भन्सार राजस्व भने प्रभावित भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रहेकोमा १८.७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । निर्यातमा करिब ३५ प्रतिशतको गिरावट भए पनि निर्यातभन्दा आयात करिब ९ गुणा बढी छ । आयात २० प्रतिशतले घटेका कारण व्यापार घाटा पनि घटेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड  ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएकोमा चालु आर्थिक वर्षमा  २०.७१ प्रतिशतले घटेको छ ।

यस्तै गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँको निर्यात भएको छ ।

कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको आयात भएकोमा मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख ६९ हजार रुपैयाँको आयात भएको छ । कात्तिकसम्मको प्रतिमहिना औसत आयात १ खर्ब ३३ अर्बभन्दा बढी रहेकोमा मंसिरमा सोभन्दा कम रहेको भन्सार विभागको तथ्याङ्क छ । मंसिरमा निर्यात भने १२ अर्ब ५३ करोड १ लाख ८६ हजार रहेको छ ।

निर्यात र आयात दुबैमा सङ्कुचन हुँदा व्यापार घाटसँगै कुल वैदेशिक व्यापार पनि घटेको छ । चालु आवको पहिलो पाँच महिनामा वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आवको मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको कुल वैदेशिक चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँमा झरेको छ ।

आयात र निर्यात दुबै घटेपनि आयातको तुलनामा निर्यातको गिरावट बढी हुँदा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि घटेर आयातको हिस्सा बढेको छ । कुल व्यापारमा गत आयातको हिस्सा गत आवको मंसिर मसान्तमा ८९.०७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ९०.८१ प्रतिशत पुगेको छ । यस्तै निर्यातको हिस्सा १०.९३ प्रतिशतबाट ९.१९ प्रतिशतमा झरेको छ । यस्तै आयात निर्यात अनुपात ८.१५ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको विभागले जनाएको छ ।

मंसिर मसान्तसम्म भएको कुल आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब ३६ करोड  १० लाख १५ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै स्टिल विलेट लगायत फलामजन्य बस्तु  ५१ अर्ब ८५ करोड ८६ लाखको आयात हुँदा पाम, सोयाविन, सूर्यमुखी तेल लगायतका वस्तु ४५ अर्ब भन्दा माथिको आयात भएको छ ।

यस्तै विद्युतीय मेसिनरी तथा औजारहरू ४२ अर्ब ९१ करोडको आयात हुँदा मेसिनरी औजार उपकरणहरू ४१ अर्बको आयात भएको छ ।

सुन चाँदी लगायतका बहुमूल्य धातु पाँच महिनामा २९ अर्ब ३२ करोड  र गाडी तथा सवारीसाधन २३ अर्ब ३४ करोडको आयात भएको  विभागको तथ्याङ्क छ ।

यता सर्वाधिक निर्यात हुनेमा भने तेस्रो धेरै आयात भएको वनस्पति घ्यु, पाम, सोयाविन, सनफ्लावर लगायतका करिब १८ अर्ब १० करोडको वस्तुहरू छन् । त्यस्तै चिया कफी लगायतका वस्तु ५ अर्ब ५५ करोड ५४ लाखको निर्यात हुँदा कार्पेट तथा अन्य टेक्सटाइल ५ अर्ब ६ करोडको निर्यात भएको छ । फलाम तथा स्टिल ३ अर्ब ४९ करोडको निर्यात भएको छ ।

यस्तै मंसिर मसान्तसम्म भन्सार राजश्व डेढ खर्ब नाघेको छ । मंसिर मसान्तसम्म आयतबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख ५४ हजार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस