बैतडी : शिक्षक बिस्टको हत्यारा सार्वजनिक, अभियुक्त श्रीमान-श्रीमती भएको खुलासा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडी : शिक्षक बिस्टको हत्यारा सार्वजनिक, अभियुक्त श्रीमान-श्रीमती भएको खुलासा 


७ पुस २०७९, बिहिबार


काठमाडौँ । बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिस्टको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार हत्याका अभियुक्त सार्वजनिक गरेको हो ।

जिल्लाको पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरू दुवै जना श्रीमान्-श्रीमती हुन् ।

बिमला बोहरा कृष्ण मावि पाटनको छात्रावास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी छन् । पौष १ गते राति शिक्षक विष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक बिस्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनी बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिस्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

छात्र बासमै हत्या गरेका बिस्टको शवलाई घटना लुकाउन छात्रावासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटनामा अरू संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

शिक्षक बिस्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशङ्का गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत बैतडी पुगेको थियो  । शिक्षक बिस्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस