यती एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गर्ने, भोलि प्रदर्शन उडानको तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यती एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गर्ने, भोलि प्रदर्शन उडानको तयारी 


६ पुस २०७९, बुधबार


काठमाडौँ । निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । 

नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले भोलि बिहीबार प्रदर्शन उडान गर्न लागेको हो ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटिआर-७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिए । उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने र विमानस्थलस्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ ।

यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए । 

यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ । काठमाडौँबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस