कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान स्वरुप १ महिनाको तलब प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान स्वरुप १ महिनाको तलब प्रदान


६ पुस २०७९, बुधबार


काठमाडौँ । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । 

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन् । मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो तलब सम्मानस्वरूप ७० हजार सात सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।  

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने कुरा कम चुनौतीको विषय नभएको बताए। उनले आरोही शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दुई–दुई पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको उपलक्ष्यमा आफूले सम्मानस्वरूप एक महिनाको तलब हस्तान्तरण गरेको बताए ।

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रूपमा सम्मान दिने गरिए पनि नेपालमा भने त्यत्ति चासो नदिएको बताए । आरोही शेर्पाले अहिलेसम्म सात पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही शेर्पासहितका हिमाल आरोहीको चर्चा विश्वमा गर्न सके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस