महानगरको कल सेन्टरमा झन्डै २२ हजार फोन, गुनासो धेरै  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगरको कल सेन्टरमा झन्डै २२ हजार फोन, गुनासो धेरै 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) मा झन्डै २२ हजार फोन आएको छ।

राष्ट्रिय सभा गृहबाट सञ्चालन भइरहेको कल सेन्टरमा ६ महिनाको अवधिमा २१ हजार ८८६ जनाले फोन गरी गुनासो तथा सोधपुछ गरेको काठमाडौँ महानगरका सञ्चार विभागका भरत पोखरेलले जानकारी दिए। कल सेन्टर गत जेठ २३ गतेदेखि सञ्चालनमा छ।

उनका अनुसार फोन आएकामध्ये १८ हजार ६८६ गुनासो र तीन हजार दुई सय जना मानिसले फोन गरी सोधपुछ गरेका छन्।

तर आएका सबै गुनासो सम्बोधन नभएको उनी बताउँछन्। यस्तै ५० प्रतिशतमात्र गुनासो सम्बोधन भएको उनको भनाइ छ।

पोखरेलका अनुसार मानिसहरूले नगर प्रहरी सम्बन्धित विषयमा समेत धेरै गुनासो गर्ने गरेका छन्। जसमा फुटपाथमा हिँड्न गाह्रो भएको, बाटोमा जथाभाबी पार्किङ गरिएको र जथाभाबी पार्किङको पैसा लिएको, घरहरू बनाउँदा बाटोमै राखिएका निमार्ण सामग्रीले अप्ठ्यारो बनाएको गुनासो आएको छ।

यस्तै, मानिसहरूले पार्किङको उचित व्यवस्थापन नभएको, फोहोर नउठेको, बाटाका खाल्डाखुल्डीले गाडी चलाउन र आवतजावत गर्न कठिन भएको, घर वरिपरि होहल्ला गरी डिस्टर्भ भएको लगायत विषयमा गुनासो आइरहेको उनी बताउँछन्।  

यस्तै, तीन हजार दुई सय जना मानिसले फोन गरी साधारण सोधपुछ गर्ने गरेका छन्।

सोधपुछ गर्ने क्रममा मानिसहरूले सरकारी कार्यालयको लोकेसन, फोन नम्बर, कुनै सेवासुविधा पाउन कता जानुपर्ने, प्रक्रिया के कस्तो हो भनेर समेत सोधपुछ गर्ने गरेको उनले बताए। 

जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले एक साताभित्रै कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुरूप जेठ २३ गते कल सेन्टर सञ्चालनमा आएको थियो। राष्ट्रिय सभा गृहबाटै कल सेन्टर सञ्चालनमा ल्याइएको थियो।  

महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्ने काठमाडौँका मेयर बालेन शाहको सचिवालयका प्रवक्ता महेश काफ्लेले जानकारी दिएका थिए।

हाल तीन जना कर्मचारीले कल सेन्टर सञ्चालन गरिरहेका छन्।

कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर समेत आफ्नो समस्या तथा गुनासो राख्न सकिनेछ। कल सेन्टरमा फोन गरेर मात्र नभई इमेल र एसएमएस गरेर पनि आफ्नो गुनासो राख्न सकिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस