चीनबाट आज स्वदेश फर्किंदै वर्षमान पुन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनबाट आज स्वदेश फर्किंदै वर्षमान पुन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदैछन् ।

पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए ।

स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि आज स्वदेश फर्किन लागेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको ओनसरीले बताइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ रहेकोमा हाल घटेर १८ मा आएको पनि पुनको सचिवालयले जनाएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस