जेष्ठ सदस्य विवाद : सचिवालयले माग्यो सक्कल नागरिकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जेष्ठ सदस्य विवाद : सचिवालयले माग्यो सक्कल नागरिकता


४ पुस २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको जेष्ठ सदस्य को भन्ने विवाद भएपछि संसद सचिवालयले सम्भावित सांसदहरूको सक्कल नागरिकता मगाएको छ।

निर्वाचन आयोगले संसद सचिवालयलाई उपलब्ध गराएको उमेरअनुसारको जेष्ठ सदस्यताको क्रम नमिलेको भन्दै विवाद भएपछि सचिवालयले सक्कल नागरिकता नै झिकाएर जेष्ठ सदस्यको निर्क्योल गर्न लागेको हो।

औपचारिक रूपमा माओवादी केन्द्रबाट निर्वाचित महिन्द्र राय यादव २७५ सदस्यीय प्रतिनिधिसभामा जेष्ठ सदस्य भए पनि उनले भुलबस आफ्नो नागरिकतामा उमेर बढेको भन्दै अघिल्लो पटक नै त्यो पद अस्वीकार गरेका थिए।

नागरिकताअनुसार वि.सं. १९९४ साल वैशाख २४ गते जन्मेका यादवले यसपटक पनि सभामुख चयन नभइन्जेल जेष्ठ सदस्यका रूपमा त्यो जिम्मेवारी पूरा नगर्ने बुझिएको छ। उनले आफ्नो वास्तविक जन्म मिति २०११ असार १५ गते भएको जानकारी यसअघि संसद्लाई गराएका थिए।

बाँकी रहेका चित्रबहादुर केसी, महन्थ ठाकुर र पशुपति शमशेरमध्ये को जेष्ठ भन्ने तय गर्न सचिवालयले नागरिकता मागेको हो। निर्वाचन आयोगले संसद्लाई पठाएको विवरणअनुसार केसी जेष्ठ सदस्य उल्लेख भए पनि उनी नभएको भन्दै विवाद भएको हो।

केसीको जन्म मिति वि.सं. १९९८ माघ २० गते छ। त्यस्तै, पशुपति शमशेर राणाको जन्ममिति आयोगले वि.सं. १९९९ वैशाख २५ गते भएको उल्लेख गरेर पठाएको छ।

तर, नागरिकताअनुसार राणाको जन्ममिति १९९८ मंसिर २४ गते भएको पाइएको संसद सचिवालयले जनाएको छ । 

त्यस्तै, तेस्रो जेष्ठ सदस्यका रूपमा लोसपाका महन्थ ठाकुर देखिएका छन्। उनको जन्म वि.सं. १९९९ वैशाख २४ गते रहेको कहीँ पनि विवाद देखिन्न। २०७४ सालमा उनले जेष्ठ सदस्यका रूपमा अरू सांसदलाई शपथ गराएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस