प्रधानमन्त्रीमा आलोपालोको समझदारी भएकै हो : प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीमा आलोपालोको समझदारी भएकै हो : प्रचण्ड


४ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरू नै हुन पनि सक्छ ।’ गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रूपमा केही नभएको भन्दै उनले थपे, ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमा नै टुङ्गो लगाउने समझदारी भएको बताए ।

गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताए । आफूहरू गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।’

आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए । उनले भने, ‘तपाईँहरूले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।’ निर्वाचनपछि सबै दलहरूका बीचमा छलफल भने भइरहेको उनले बताए ।
अध्यक्ष दाहालले आफैँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे । उनले भने, ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ ।’

राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरू कसैसँग पनि यो विषयमा छलफल नगरेको बताए । त्यो अहिले सम्भव पनि नरहेको उनको भनाइ थियो । नेकपा एमालेसहित अन्य दलहरूसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए ।

नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस