खनालसहित माधव नेपालसँग महन्त ठाकुर र वामदेव गौतमको भेटवार्ता, के भयो छलफल ?   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खनालसहित माधव नेपालसँग महन्त ठाकुर र वामदेव गौतमको भेटवार्ता, के भयो छलफल ?  


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्त ठाकुर र वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरूबिच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो ।  

निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरूको दौडधुप बढेको हो । मुलुक अहिले अस्थिरतातर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधारले जानकारी दिए । 

त्यस्तै, उनले एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्मअनुसार अघि बढ्ने निर्णय भएको बताए । 

बैठकले सोमबार पार्टीको संसदीय दलको नेता छनोट गर्न बैठक बोलाएको पनि उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस