पार्किङको विषयमा अनामनगरमा तनाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्किङको विषयमा अनामनगरमा तनाव


३ पुस २०७९, आइतबार


काठमाडौँ। काठमाडौँको अनामनगरमा पार्किङको विषयमा तनाव सिर्जना भएको छ । निजी जग्गामा पार्किङ गरी राखिएका सवारी साधन काठमाडौँ महानगरपालिकाले जबरजस्ती उठाएको भन्दै स्थानीय व्यवसायीहरूले विरोध गर्नेक्रममा अनामनगर क्षेत्रमा तनाव सिर्जना भएको हो ।

महानगरले भने सडक पेटीमा अनधिकृत रूपमा राखिएका मोटरसाइकल उठाउने क्रममा स्थानीय व्यवसायीले अवरोध गर्न खोज्दा केहीबेर तनाव सिर्जना भएको बताएको छ ।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै विरोध भएको हो । स्थानीय व्यवसायीले निजी क्षेत्रमा पार्किङ गरिरहेको सवारी साधन महानगरले जबरजस्ती उठाएको आरोप लगाएका छन् ।सडक पेटीमा ट्राफिक प्रहरीले एकलाइन पार्किङ गर्न दिए पनि महानगर प्रहरीले बल प्रयोग गरेर सवारी उठाएको उनीहरूको गुनासो छ ।

सो क्षेत्रका व्यवसायीले एकलाइन पार्किङ सडक र सडक पेटी दुवै क्षेत्रलाई असर नगरेको भन्दै महानगरले अनावश्यक रूपमा ज्यादती गरिरहेको बताएका छन् ।

पैदल हिँड्ने फुटपाथमा पार्किङ गरेर राखिएको ९ वटा मोटरसाइकल उठाएको काठमाडौँ महानगर प्रहरीले जनाएको छ ।

अनामनगर क्षेत्रमा खटिएका नगर प्रहरी उपरीक्षक विष्णु शर्मालेका अनुसार पार्किङ अनुमति नभएका, सडक र सडक पेटीमा राखिएको मोटरसाइकल उठाएर बग्गीखानामा लैजान खोज्दा कहिबेर तनाव भएको हो । 

शर्माका अनुसार महानगर प्रहरीलाई स्थानीयले जान नदिएपछि नगर प्रहरी राजु पाण्डे सहितको थप प्रहरी बल अनामनगर क्षेत्रमा पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस