विराटनगर महानगरद्वारा इन्जिनियर माग, लोक सेवा वैकल्पिकले आवेदन दिन सक्ने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विराटनगर महानगरद्वारा इन्जिनियर माग, लोक सेवा वैकल्पिकले आवेदन दिन सक्ने 


३ पुस २०७९, आइतबार


विराटनगर । विराटनगर महानगरपालिकाले सेवा करारमा इन्जिनियर तथा सव-इन्जिनियर माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशन गर्दै पूर्वाधार सम्बन्धी कार्यका लागि सिभिल इन्जिनियर माग  गरेको हो । 

करार भर्नालाई निष्पक्ष बनाउन लोक सेवा आयोगको वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका उम्मेदवारले मात्र निवेदन दिन पाउने महानगरपालिकाले जनाएको छ । ‘आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म लोक सेवा आयोग काठमाडौँ र धनकुटा तथा इलाम कार्यालय एवम् प्रदेश लोक सेवा आयोग प्रदेश नं १ विराटनगरबाट वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको सात दिन भित्र तपसिल बमोजिमका कागजातसहित निवेदन पेस गर्न यो सूचना प्रकाशित गरिएको छ’ शनिवार प्रकाशित सूचनामा भनिएको छ । 

इच्छुक व्यक्तिले निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल इन्जिनियरिङ परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि र वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएको विवरणसहितका कागजात पेस गर्नुपर्नेछ । 

केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकाले महानगरका लागि आवश्यक इन्जिनियर करारमा नियुक्त गर्दा लोक सेवा आयोगका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएकालाई राख्ने निर्णय गरेको थियो । जसले चौतर्फी प्रशंसा बटुल्नुका साथै अन्य निकायहरूका लाग समेत अनुकरणीय भन्दै चर्चा भएको थियो । 

सम्बन्धित समाचार : लोक सेवाका वैकल्पिकलाई करारमा राख्ने महानगर विज्ञापन चर्चामा, बालेनको हाइहाइ

Tags :
प्रतिक्रिया दिनुहोस