ट्रक व्यवसायीहरू आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्रक व्यवसायीहरू आन्दोलित


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन् ।

लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगङ्गा यातायात व्यवसायी समिति, राप्ति अञ्चल संयुक्त ट्रक व्यवसायी सङ्घ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले आज संयुक्त विज्ञप्तिसहित भैरहवा भन्सार कार्यालय परिसरमा नारा जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

ट्रक व्यवसायी महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष लेखराज पोखरेलले भारतीय गाडीले ओभरलोड बोक्दा नेपाली व्यवसायी समस्यामा पर्नुका साथै सडक भत्किएको बताए । ट्राफिक प्रहरीले जरिवाना गरेर गाडी छोड्ने प्रवृत्ति गलत रहेको भन्दै उनले कानूनबमोजिम जानेमा ट्राफिक प्रहरी चुकेको बताए । लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले तत्काल भारतीय ट्रकको ओभरलोड भार मिलान नगरे आन्दोलनका थप सङ्घर्षका कार्यक्रम गर्दै जाने बताएका छन् । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५३ मा विदेशी गाडीले व्यावसायिक रूपमा सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ । हेभी इक्विपमेन्ट सामानबाहेक अन्य लुज सामान भन्सार विन्दुबाट पल्टी गराई नेपाली गाडीमा ढुवानी गराउनुपर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस