२७ लाख बराबरको सुन चोरेको आरोपमा महिला पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

२७ लाख बराबरको सुन चोरेको आरोपमा महिला पक्राउ


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा एक महिला पक्राउ परेकी छिन्।

ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश  टोलबाट पक्राउ परेकी हुन्।

पोखराका विभिन्न स्थानका वृद्ध-वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औँठी र टप चोरी गरेकी छिन्।

पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औँठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ वर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ वर्षीय ठगकुमारी महतका सुनको सोवकी र औँठी, गलेश्वर मार्गका ५४ वर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ।

यस्तै पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औँठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ वर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

पोखराका विभिन्न स्थानका ९ जनासँग चोरी भएका सुनका गरगहना २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको छ। चोरी आरोपित श्रेष्ठका साथबाट सुनका पोतेसहित तिलहरी, औँठी, फुलीलगायत सुनका गरगहनासमेत बरामद गरेको प्रहरी निरीक्षक खड्काले बताए।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस