सडकमा जथाभाबी ढङ्गले राखिएका पार्किङ हटाउन महानगरको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडकमा जथाभाबी ढङ्गले राखिएका पार्किङ हटाउन महानगरको चेतावनी


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभाबी ढङ्गले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक-खण्डमा भइरहेको जथाभाबी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो ।

महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडक-खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो ।

सडकमा जथाभाबी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो । शुक्रबार हटाउन चेतावनी दिएको र शनिबारदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ । सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारीसाधन बस, ट्रक जस्ता गाडी जथाभाबी पार्किङ गर्ने गरेको पाइन्छ ।

मेयर सिंहसहितको टोलीले वडा नम्बर ४ बिर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभाबी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ । फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न सचेत गराइएको महानगरले जनाएको छ ।

टोलीले वडा नम्बर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ । भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका लागि आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस