निजी क्षेत्रको समस्या समाधान गर्न राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजी क्षेत्रको समस्या समाधान गर्न राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । विराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा आजदेखि सुरु भएको विराट एक्स्पो २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले औद्योगिक क्षेत्रमा थप लगानी भित्र्याउन तथा परिश्रमी एवं देशप्रेमी उद्योगी, व्यवसायीलाई उत्साहित तुल्याई राख्न सबै पक्षको विशेष ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् ।

विराटनगर क्षेत्रबाट फेरि एकपटक सम्पूर्ण मुलुकलाई नै ऐतिहासिक सन्देश दिनेगरी उद्योगी व्यवसायीले अग्रसरता लिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यसबाट देशको आर्थिक एवम् औद्योगिक क्षेत्रले नयाँ गतिशीलता प्राप्त गर्नेछ भन्ने विश्वास बढेको बताइन् । 

उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ सकेसम्म देशभित्रै उत्पादन गराउन किसान एवं उद्योगी बीचको सहकार्य अत्यन्तै आवश्यक रहेको भण्डारीको जोड थियो ।

भण्डारीले विराटनगरले विगतको पहिचान कायम राख्न सङ्घर्ष गरिरहनु परेको पनि बताएकी छिन् । उनले नेपालको इतिहासमा विराटनगर क्षेत्रको विशिष्ट योगदान एवं सम्मानित पहिचान रहेको उल्लेख पनि गरिन् ।

‘विराटनगरमा उद्योगीहरूले मुलुकको सामाजिक क्षेत्रमा गरेको योगदान समेत सधैँ प्रशंसाको विषय रही आएको छ । यद्यपि केही दशक अघिसम्म देशको प्रमुख औद्योगिक केन्द्र रही राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको विराटनगरले पछिल्ला वर्षयता आफ्नो पहिचान कायम राख्न सङ्घर्ष गरिरहेको हामी सबैले अनुभव गरेका छौँ,’ उनले भनिन्, ‘महाभारतकालीन राजा विराटसँग समेत सम्बन्धी रहेको यस सहरले नेपाली सभ्यता र संस्कृतिको निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । इतिहासको गौरवलाई कायम राख्दै वर्तमान समयमा विराटनगरको मौलिक पहिचान दर्साउने प्रतिकात्मक संरचनाको निर्माणको पहल गर्नका लागि म सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’

भण्डारीले तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस