‘धरहरा बनाउने ठेकेदार कम्पनीले सुन्धारा बनाउन सक्दैन’  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘धरहरा बनाउने ठेकेदार कम्पनीले सुन्धारा बनाउन सक्दैन’ 


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सुन्धारा विवादले तीन दिनदेखि धरहरा पुनर्निर्माणको काम ठप्प छ । निर्माण कम्पनी जीआई ईपीसी रमन कन्स्ट्रक्सनले सुन्धारा पछाडि डोजर चलाएपछि पुनर्निर्माणको काम रोकिएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर-२ ले पटक-पटक पत्राचार गर्दा पनि सो क्षेत्रमा खाल्डो खन्दा सुन्धारामा पानी आउने २७-२७ फिट काठको डुँड भाँचिएको थियो ।

कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले अब समिति नै बनाएर काम अघि बढाइने बताए । 

गएको सोमबार निर्माण कम्पनीले सुन्धाराका लागि एक लाख लिटर पानी अट्ने रिजर्भ ट्यांकी बनाउने भन्दै खाल्डो खन्दा काठको डुँड भाँचिएको थियो । 

डुँड भाँचिएपछि स्थानीयको आग्रहमा महानगरका मेयर बालेन्द्र शाह (बालेन)सहित वडा नम्बर-२२ का अध्यक्ष चिनीकाजी महर्जनको टोलीले निरीक्षण गरेको थियो ।

धरहरा बनाउने निर्माण कम्पनीले सुन्धारा बनाउन नसक्ने वडाध्यक्ष महर्जन बताउँछन् । सो डुँड १०० वर्ष पुरानो हुन सक्ने उनको अनुमान छ ।

काठमाडौँको ‘हिटी’ प्रणालीको महत्त्व नबुझेकाले धरहरा निर्माण गर्ने कम्पनीले सुन्धारा बनाउन नसक्ने भन्दै काम रोक्ने वडाध्यक्ष महर्जनको चेतावनी छ ।

कम्पनीले पुर्‍याएको क्षतिबारे पुरातत्त्व विभागले कारबाही नगरे अदालतसम्म पुग्ने स्थानीय बताउँछन् । सम्पदा संरक्षणकर्मी तथा अधिवक्ता सञ्जय अधिकारीले सुन्धारा मासिँदै गएको भन्दै विभागलाई ध्यानाकर्षणपत्र पठाएका छन् । प्राचीन सम्पदामा क्षति हुँदा पनि विभाग मौन बसेको उनको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस