निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउँदै आयोग


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका थिए ।

आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्दैछ । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ ।

त्यसपछि हालको वर्तमान सरकारले प्रतिनिधिसभा बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गर्दछ । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिबाट संसद बैठक आह्वान हुन्छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा नव निर्वाचित सांसद मध्येबाट सबैभन्दा धेरै उमेर रहेका जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएर प्रतिनिधिसभाका सम्पूर्ण सदस्यहरूलाई सपथ गराउँछन् । ​

सांसदले सपथ लिएपछि जेष्ठ सदस्यले अर्को दिनको लागि बैठक आह्वान गर्छन् भने यसपछि सरकार निर्माणको प्रक्रिया अघि बढ्छ । सरकार गठनको प्रक्रिया अघि बढाउनु अघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

संसदीय दलको बैठक बसेपछि सरकार बनाउन विचार मिलेका दलहरूबीच बहुमत जुटाउन छलफल चल्नेछ । संघीय संसदमा सांसदहरुले सपथ ग्रहण गरेको ३५ दिनभित्र दलहरूले बहुमत जुटाएर सरकार गठन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस