काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन् ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्क अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका छन् ।
उक्त कार्यक्रममा दुवै बैङ्कका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । यस अघि ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैङ्कका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुवै बैङ्कले मङ्सिर २३ गते दुवै बैङ्कका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।