फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर


२८ मंसिर २०७९, बुधबार


पर्सा । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो ।

महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए । क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए ।

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ । यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए ।

फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उनले बताए । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस