के हो आयोग र एमालेबीच समानुपातिक सांसद छनौटमा विवाद ?  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

के हो आयोग र एमालेबीच समानुपातिक सांसद छनौटमा विवाद ? 


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । 

निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरूले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए ।

एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाति पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाति महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र सङ्खुवासभाकी लहरुमाया जिमी (याख्खा)लाई पठाएको थियो । 

यद्यपि जनजाति महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो । सूची अनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो । तर, उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो ।

एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ । यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ छ । निर्वाचन आयोगले आजै समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस