बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ ।

जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताए । परीक्षा सकाएर जाडो छल्नका लागि बेँसी झर्न धमाधम परीक्षा भइरहेको उनको भनाइ छ ।

इकाइको तथ्याङ्कका अनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासो गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रमुख चपाईंले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना छन् । चामे गाउँपालिकामा एक सय ७६, नासो गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको उनले बताए ।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन हुँदा खाली भएको उनको भनाइ छ ।

बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर राखेर पठनपाठन गराउन थालेकाले विद्यार्थीको सङ्ख्या कम भएको उनले बताए ।

मनाङमा इसिडीमा एक सय ६६, कक्षा १ देखि ५ सम्म एक सय ४६, कक्षा ६ देखि ८ सम्म एक सय नौ जना विद्यार्थी छन् । साथै कक्षा नौ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ गरी कूल पाँच सय ४५ विद्यार्थी छन् ।

मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक छन् । चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासो गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस