राजनीतिले धेरै विश्वास गुमायो, अव समाजले सम्मान गर्ने स्थिति छैन : प्रदीप पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजनीतिले धेरै विश्वास गुमायो, अव समाजले सम्मान गर्ने स्थिति छैन : प्रदीप पौडेल


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्। सोमबार बुढानीलकण्ठ नगरपालिकास्थित विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धता गर्ने, तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिनेमा सचेत गराए। विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने उनको भनाइ छ।

‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ। घोषणापत्र लेख्ने, प्रतिबद्धताहरू व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन। राजनीतिको ठूलो तहमा पुगेपनि समाजले सम्मान गर्ने स्थिति हुँदैन,’ उनले भने।

नेता पौडेलले कर तिरेका नागरिकले सुविधा माग्नु गलत नभएको उल्लेख गर्दै नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद् भएको बताए। उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस