मैत्रीपूर्ण फुटबलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनायो : सुनिता डङ्गोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मैत्रीपूर्ण फुटबलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनायो : सुनिता डङ्गोल


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्।

सोमवार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन्।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरूसँग प्रत्यक्ष रूपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्।

जनप्रतिनिधिहरू खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनुरूप पूरा भएको उनको भनाइ छ।

महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ।

यो वर्ष पनि महानगरले सोमबार काठमाडौँको दशरथ रङ्गशालामा फुटबल आयोजना सम्पन्न गरेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए।

जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए। तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।

खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस