प्रतिनिधिसभाको समानुपातिकमा दलले पठाएका नाम सच्याउनु नपर्ने  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभाको समानुपातिकमा दलले पठाएका नाम सच्याउनु नपर्ने 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा त्रुटि नरहेको बताएको छ ।

आयोगका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएका हुन् ।

दलहरूले समानुपातिकतर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सिट संख्या तोकेर नाम पठाउन दलहरुलाई पत्राचार गरेको थियो । त्यसपछि शनिबार दलहरूले आ-आफूले पाएको सिटमा नाम पठाएका थिए ।

प्रदेशसभामा पेस गरेको नाममा भने केही त्रुटि देखिएको सहप्रवक्ता वाग्लेले बताए । अल्पसङ्ख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसङ्ख्यक पुगिसकेपछि फेरि अल्पसङ्ख्यकै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ ।

त्यस्तै अल्पसङ्ख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको वाग्लेले बताए ।

यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको पनि सहप्रवक्ता वाग्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस